नेप्सेमा ४ कम्पनीको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा (मंगलबार पुस १४ गते) ५ कम्पनीहरुको मूल्य समायोजन भएको छ। यी कम्पनीहरुले लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य २ हजार ७८४ रुपैयाँ कायम गरेको छ। कोषको सोमबार ५ हजार ८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोही मूल्यका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्नेछ। सोही प्रयोजनार्थ कोषले आज बुकक्लोज गरेको हो। कोषको हकप्रद शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिने सकिनेछ।
त्यसैगरी, नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैयाँ निर्धारण गरेको छ। आइतबार बैंकको शेयर प्रतिकित्ता ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २८ गते साधारण सभा डाकेको छ।
लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर आइतबार दोस्रो बजारमा २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा डाकेको छ।
त्यस्तै, नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३३७ रुपैयाँ निर्धारण गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्नेछ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस समायोजन पश्चात प्रति कित्ता शेयरमूल्य ९८४ रुपैयाँ कायम भएको छ। लघुवित्तले पनि पुस २७ गते नै साधारण सभा बोलाएको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो।

