युरोपेली संघ र ब्रिटेनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्ने विषयमा सहमति भएको छ । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको बताएका छन् ।

दुवै जना बीच सुल्झिन बाँकी केही मुद्दामा पनि कुराकानी भएको छ । यो साताको सुरुमा जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर आइतबारसम्मको समय तय गरेका थिए । यद्यपि ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतबारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएका थिए ।

ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ । ३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ ।

यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे ब्रिटेनसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो । ती योजनाहरूमा वेलायत र युरोपेली संघ ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् ।

Facebook Comments Box